हायर पर्चेज कम्पनीले ऋण दिँदा ब्याज बाहेक अन्य शुल्क लिन नपाउने, यस्ता छन् अन्य व्यवस्था

काठमाडौँ। नेपाल राष्ट्र बैंकले हायर पर्चेज कम्पनीलाई कर्जा प्रवाह गर्दा ऋणीसँग ब्याज बाहेकका अन्य शुल्क अर्थात सेवाशुल्क लिन नपाउने व्यवस्था गरेको छ।

राष्ट्र बैंकले आज हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० (चौथो संशोधन, २०८०) जारी गर्दै यस्तो व्यवस्था गरेको हो।

नयाँ व्यवस्थासँगै अब २५ लाख भन्दा ठूलो हायर पर्चेज कर्जा लिनेहरुले अनिवार्य रुपमा प्यान नम्बर लिएको हुनुपर्नेछ । साथै कर्जा प्रवाह गर्दा ऋणीसँग गरिने सम्झौतामा वार्षिक पेनाल ब्याजदर २ प्रतिशत विन्दुभन्दा बढी नहुने गरी उल्लेख गर्नुपर्ने राष्ट्र बैंकले निर्देशन दिएको हो। पेनाल ब्याज गणना गर्दा म्याद नाघेको किस्ताको साँवा रकममा वार्षिक पेनाल ब्याजदरले विलम्ब भएको समयावधिका लागि कायम हुन आउने रकमभन्दा बढी लिन र पेनाल ब्याजमा ब्याज लाग्ने गरी रकम असुल उपर गर्न नपाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

त्यस्तै, कम्पनीको ब्याजदर निर्धारण सम्बन्धमा आवश्यक देखिएमा समय समयमा त्यस्तो ब्याजदर सम्बन्धी नीतिगत व्यवस्था गर्न सक्ने राष्ट्र बैंकले संशोधन गरेको व्यवस्थामा उल्लेख छ । यस्तै, हायर पर्चेज कर्जा प्रवाह गर्ने कम्पनीलाई आफ्नो नामको पछाडि हायर पर्चेज प्राइभेट लिमिटेड (प्रा. लि.) तथा लिमिटेड लि. राख्न निर्देशन दिएको छ। हायर पर्चेज ऋण दिने कम्पनीहरुले कम्तिमा स्नातक तह उतिर्णहरुलाई मात्रै सीईओ वा प्रबन्ध सञ्चालक नियुक्त गर्न सक्नेछन् ।

PUBLISH